रमा पन्थी , काठमाडौ ।
४२ बर्षमै थाक्यो शरीर,
तर स्वर कहिल्यै थाकेन।
तिम्रो बुबा आज टाढा भए,
तर माया कहिल्यै हराउँदैन।
नानी, तिमी सानी छ्यौ,
शब्द बुझ्न अझै बाँकी छ।
तर याद राख, तिम्रो बुबा
सास बनी बाँचेका छन्।
आकाशको तारा बनेर
हरेक रात झल्किनेछन्,
तिमी रोए आँसु पुछ्न
हावाबनी आउनेछन्।
कहिलेकाहीँ आँखा भरिँदा
मन बलियो बनाइराख्नु।
बाबाको अधुरो सपना
छोरी, आफ्नो मुस्कानमा साँच्नु।
उहाँ गए पनि माया गएन,
कर्तव्य टुटेन, नाता टुट्दैन।
स्वर शून्य भए पनि
आशीर्वाद कहिल्यै छुट्दैन।
आज आँसु बग्न देऊ,
भोलि आशा अँगाल्नु छ।
उहाँको सम्झनामा
जीवनलाई अगाडि बढाउनु छ।
आमाले आँसु रोक्न नसक्दा
छोरीले हात समात्नु ल।
बुबाको सपना बाँकी छ,
मुस्काउँदै इच्छा पूरा गर्नु ल।।
३ माघ २०८२, शुक्रबार ०४:४९ मा प्रकाशित