फागु पूर्णिमा आज हर्षोल्लासका साथ मनाइँदै

samajsandesh.com


काठमाडौं, २०८२/११/१८ सोमबार — वसन्त ऋतुको सुरुवातसँगै आज देशभर फागु पूर्णिमा अर्थात् होलि पर्व उल्लास, उमंग र आपसी सद्भावका साथ मनाइँदैछ। रंगहरूको यो पर्वले प्रकृतिमा नयाँ ऊर्जा, उत्साह र जीवन्तता भरेझैं मानव जीवनमा पनि आशा, प्रेम र एकताको सन्देश फैलाउने विश्वास गरिन्छ।

परम्पराअनुसार पहाडी तथा हिमाली क्षेत्रमा चतुर्दशीमा पूर्णिमा तिथि मिसिँदा होली मनाइन्छ भने तराई क्षेत्रमा होलिका दहन गरी पूर्णिमाको दिन रंग खेल्ने चलन रहेको छ। पहिलो दिन साँझ सार्वजनिक स्थल वा घर नजिकै दाउरा संकलन गरी होलिका दहन गरिन्छ। यसले दुष्ट प्रवृत्तिमाथि सत्य र भक्तिको विजय भएको प्रतीक मानिन्छ। दोस्रो दिन बिहानदेखि नै अवीर, अबिर-गुलाल र विभिन्न रंगहरू एकअर्कामा लगाई हर्षोल्लासका साथ होली खेलिन्छ।

वैदिक मान्यताअनुसार यस पर्वलाई ‘नवान्नेष्टि’ यज्ञसँग जोडिएको पाइन्छ, जहाँ नयाँ अन्न अग्निलाई अर्पण गरी प्रसादको रूपमा ग्रहण गर्ने चलन थियो। तराई क्षेत्रमा अहिले पनि अधकल्चा अन्न अग्निमा पोलाई ‘ओराहा’का रूपमा खाने परम्परा देखिन्छ। पौराणिक कथाअनुसार विष्णुभक्त प्रह्लादलाई जलाएर मार्न खोज्दा होलिका स्वयं भष्म भई भक्तिको विजय भएको प्रसंगले यो पर्वलाई धार्मिक तथा आध्यात्मिक महत्व दिएको छ।

फागु पूर्णिमालाई मदनोत्सव पनि भनिन्छ, जसले प्रेम, शृंगार र सहिष्णुताको भावना उजागर गर्छ। वसन्त ऋतुमा प्रकृतिको नवजीवनसँगै मानव मन पनि उल्लासित हुने भएकाले संगीत, नृत्य र रंग यस पर्वका मुख्य आकर्षण मानिन्छन्। परम्परागत रूपमा देवर-भाउजुबीच विशेष रूपमा रंग खेल्ने चलन तराई क्षेत्रमा प्रचलित भए पनि अहिले यो पर्व सबै उमेर समूहका मानिसबीच आपसी मनोमालिन्य हटाउने अवसरका रूपमा विकसित भएको छ।

समाजमा बढ्दो व्यस्तता र दूरीका बीच होलीले परिवार, आफन्त र साथीभाइलाई एकै ठाउँमा ल्याई सम्बन्ध सुदृढ गर्ने अवसर प्रदान गर्दछ। क्षमा, मेलमिलाप र सद्भावको सन्देश बोकेको यो पर्वले सामाजिक एकता र आध्यात्मिक उन्नतिमा टेवा पुर्‍याउने विश्वास गरिन्छ।


प्रतिक्रिया