रमा पन्थी , काठमाडौ ।
ललितपुरको श्रमिक शान्ति माध्यमिक विद्यालय, च्यासल मा फागुन १ गते मानसिक स्वास्थ्य सचेतना सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। विद्यालयको कार्यक्रम हलमा आयोजित उक्त प्रशिक्षणमा करिब ५५ जना शिक्षक तथा विद्यालयका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा डा. सुधा भेटुवालले मानसिक स्वास्थ्यप्रतिको बुझाइ, वर्तमान अवस्था तथा विद्यमान चुनौतीहरूबारे प्रकाश पारेकि थिइन्। उनले मानसिक स्वास्थ्यलाई शारीरिक स्वास्थ्य सरह महत्त्व दिनुपर्ने आवश्यकता औंल्याउँदै विद्यालयस्तरमै सचेतना अभिवृद्धि गर्नुपर्ने बताउइन।
मनोबिमर्शकर्ता रमा पन्थीले “एन्जाइटी भनेको के हो?”, यसलाई समयमै पहिचान गर्न नसक्दा व्यक्ति तथा परिवारमा पर्ने असर के कस्तो हुन्छ ?, र कसरी आफैंले मापन गरेर मानसिक रूपमा स्वस्थ रहन सकिन्छ ? भन्ने जस्ता विषयमा सामूहिक क्रियाकलापमार्फत स्पष्ट पारेकि थिइन् । उनले सहभागीहरूलाई आत्ममूल्यांकनका सरल उपायहरू अभ्यास गराउँदै समयमै सचेत हुन प्रेरित गरेकी थिइन् ।
त्यस्तै, मनोबिमर्शकर्ता संगिता सिजापतिले मनमा तनाव बढेको वा मन आत्तिएको अवस्थामा आफूलाई कसरी शान्त पार्ने भन्ने विषयमा विभिन्न अवस्थाअनुसारका अभ्यास र क्रियाकलापहरू गराएकि थिइन्। समयमै आफ्ना भावनाहरू बुझेर व्यवस्थापन गर्न सके सम्भावित मानसिक समस्याबाट जोगिन सकिने उनको भनाइ थियो।
शिक्षक केवल पढाउने व्यक्ति मात्र होइनन्, उनीहरू विद्यार्थीको व्यवहार, भावना र सोचाइ नजिकबाट बुझ्ने जिम्मेवार तथा महत्वपूर्ण व्यक्ति हुन्। त्यसैले मानसिक स्वास्थ्य सम्बन्धी तालिम शिक्षकका लागि अत्यन्त आवश्यक हुन्छ।
विद्यार्थीको व्यवहारिक समस्या वा विभिन्न लक्षणहरू समयमै चिन्न तालिम पाएका शिक्षक सक्षम हुन्छन्।मानसिक रूपमा अस्थिर विद्यार्थीले राम्रोसँग ध्यान दिन सक्दैनन्। शिक्षक सचेत भएमा उनीहरूले सहयोगी वातावरण सिर्जना गरी पढाइमा सुधार ल्याउन सक्छन्।
त्यस्तै, किशोरावस्थामा मानसिक समस्या बढ्न सक्छ। आत्महत्या तथा अन्य जोखिम कम गर्न समयमै कुरा सुन्ने र सहारा दिने शिक्षकले ठूलो जोखिम घटाउन सक्छन्।
मानसिक स्वास्थ्यबारे ज्ञान हुँदा शिक्षकले दण्डभन्दा संवादलाई प्राथमिकता दिन्छन्। यसले कक्षामा विश्वास र सम्मानको वातावरण निर्माण गर्छ।शिक्षक स्वयं पनि तनाव, बर्नआउट तथा पारिवारिक दबाबबाट गुज्रिरहेका हुन सक्छन्। तालिमले उनीहरूलाई आफ्नै मानसिक स्वास्थ्यको हेरचाह गर्न सहयोग पुर्याउँछ।
अर्कोतर्फ, अभिभावकसँग सहकार्य गर्न पनि मानसिक स्वास्थ्यबारे बुझाइ आवश्यक हुन्छ। यससम्बन्धी ज्ञान हुँदा शिक्षकले अभिभावकलाई सही सन्देश दिन सक्छन् र सहकार्य अझ प्रभावकारी बन्छ।
यस्ता विविध पक्षलाई मध्यनजर गर्दै विद्यालयले सबै शिक्षक तथा कर्मचारीहरूका लागि मानसिक स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरेको विद्यालयका प्राचार्यले जानकारी दिएका छन्।
सम्पूर्ण कार्यक्रमको सहजीकरण गृहिणी समाजकी निरा तिम्सिनाले गरेकि थिइन् । कार्यक्रम सहभागीहरूका लागि उपयोगी र प्रभावकारी रहेको सहभागीहरूले? प्रतिक्रिया व्यक्त गरिएको छ।