काठमाडौँ । सनातन हिन्दु धर्मावलम्बीहरूले आज श्रद्धा र भक्तिपूर्वक हरिबोधिनी एकादशी अर्थात् ‘ठूली एकादशी’ पर्व मनाउँदै छन्। प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने यस पर्वमा घरघरमा रोपिएको तुलसीको विशेष पूजाआराधना गरी भगवान् विष्णुको स्वरूप दामोदर (शालिग्राम) सँग विधिपूर्वक विवाह गरिदिने शास्त्रीय परम्परा रहेको छ।
क्षीरसागरबाट भगवान् विष्णु जागा हुने विश्वास
धार्मिक मान्यताअनुसार आषाढ शुक्ल एकादशी (हरिशयनी एकादशी) का दिन क्षीरसागरमा शयन गर्नुभएका भगवान् विष्णु चार महिनापछि आजकै दिन ब्युँझनुहुन्छ। चार महिनापछि हरि (विष्णु) जागा हुने भएकैले यस दिनलाई ‘हरिबोधिनी’ वा ‘प्रबोधिनी’ एकादशी भनिएको हो। हरिशयनी एकादशीदेखि सुरु भएको चार महिना लामो चतुर्मास व्रत पनि आजैदेखि समापनको चरणमा प्रवेश गर्दछ।
तुलसी विवाहको विधि र फलाहार प्रचलन
यस अवसरमा श्रद्धालुहरूले बिहानै स्नान गरी घरआँगनमा रहेको तुलसीको मठलाई गाईको गोबर र रातो माटोले लिपपोत गरी फूलमाला तथा उखुको बोट गाडेर सिँगार्ने गर्दछन्। साँझपख तुलसीलाई दुलहीझैँ रातो वस्त्र, चुरा, पोते र सौभाग्यका सामग्री चढाएर शालिग्राम वा विष्णुको प्रतिमासँग विवाह गराइन्छ।
व्रतालुहरूले आज दिनभर निराहार वा फलाहार व्रत बसी अन्न त्यागेर सखरखण्ड, पिँडालु, तरुल र फलफूल प्रसादका रूपमा ग्रहण गर्ने प्रचलन छ। भोलिपल्ट द्वादशीका दिन हवन तथा नवान्न (नयाँ अन्न) अर्पण गरी पारण गरेपछि चतुर्मास व्रत पूर्ण हुन्छ। आजको दिन व्रत तथा पूजाआराधना गर्नाले पाप नाश भई पुण्य प्राप्त हुने र मनोकामना पूरा हुने धार्मिक विश्वास छ।
चार नारायण र बूढानीलकण्ठमा भक्तजनको घुइँचो
हरिबोधिनी एकादशीको अवसरमा आज बिहानैदेखि काठमाडौँ उपत्यकाका चार नारायण— भक्तपुरको चाँगुनारायण, काठमाडौँको शेषनारायण, इचँगुनारायण र ललितपुरको विशंखुनारायण मन्दिरमा दर्शनार्थीहरूको विशेष घुइँचो लागेको छ। चार नारायणको दर्शन गर्न नसक्ने भक्तजनहरूले काठमाडौँको बूढानीलकण्ठ नारायणस्थानमा पूजाआजा गर्दा चारै नारायणको दर्शन गरेबराबरको फल मिल्ने जनविश्वास छ। यसका साथै पशुपतिनाथ, तनहुँको देवघाट, सुनसरीको बराहक्षेत्र लगायत देशभरका प्रमुख तीर्थस्थल तथा त्रिवेणी धामहरूमा आज विशेष धार्मिक मेला लागेको छ।
धार्मिकसँगै वैज्ञानिक महत्त्व
आयुर्वेद तथा आधुनिक विज्ञानले समेत तुलसीलाई महाऔषधिको रूपमा प्रमाणित गरेको छ। तुलसीको बिरुवाले २४ सै घण्टा अक्सिजन प्रवाह गर्नुका साथै यसको सुगन्धले वरपरको वायुमण्डल शुद्ध बनाउने र रोगका कीटाणु नष्ट गर्ने वैज्ञानिक तथ्य छ। यही धार्मिक, सांस्कृतिक र स्वास्थ्यवर्द्धक महत्त्वका कारण वैदिक सनातन परम्परामा तुलसीको मठ भएको घरलाई तीर्थसमान पवित्र मानिन्छ।