कपिलवस्तुको सगरहवामा २५७०औं शाक्य पितृ स्मरण दिवस आयोजना हुने

samajsandesh.com

लुम्बिनी — कपिलवस्तु नगरपालिका–५ जगदीशपुरस्थित सगरहवामा २५७०औं शाक्य पितृ स्मरण दिवस आगामी २०८२ साल चैत्र १ गते आयोजना हुने भएको छ। कार्यक्रम २५७०औं शाक्य पितृ स्मरण दिवस आयोजक समिति द्वारा आयोजना गरिँदैछ।

इतिहास अनुसार करिब २५७० वर्षअघि कोशलका राजा विदुदभ द्वारा शाक्य वंशमाथि आक्रमण गरी सामूहिक हत्या गरिएको थियो। सोही घटनाको सम्झनामा विश्वभर छरिएर रहेका शाक्य समुदायले सगरहवामा आई आफ्ना पुर्खाहरूको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गर्ने परम्परा रहेको छ।

सगरहवा क्षेत्र लामो समयसम्म खण्डहर अवस्थामा रहेको थियो। सन् १८९८ जनवरीमा पुरातात्विक उत्खननका क्रममा यहाँ १७ वटा स्तूप फेला परेका थिए। ती स्तूपहरूबाट अस्थि कलश, सुन, चाँदी तथा तामाका सामग्रीहरू भेटिएको उल्लेख गरिएको छ। साथै उत्खननका क्रममा त्रिशूल, अंकुश र परशु अंकित पुराना इँटाहरू समेत भेटिएका थिए।

आयोजक समितिका अनुसार कार्यक्रममा अतिथिहरूको स्वागत तथा सम्मान, जगदीशपुर ताल क्षेत्रमा चराहरूको अवलोकन, थारु सांस्कृतिक कार्यक्रम रहेको  र शाक्य पितृ स्मरणका लागि पूजा, ध्यान तथा औपचारिक कार्यक्रम आयोजना गरिने कुरा समितिका ओमनाथ पौडेलले जानकारी दिए ।

प्रतिक्रिया