अध्ययनपछि थाहा हुन्छ सागरको गहिराइ,
रमा पन्थी,काठमाडौं।
अध्ययनपछि थाहा हुन्छ सागरको गहिराइ,
मनले बुझ्दै जाँदा मात्र महसुस हुन्छ भावनाको सहराई।
बुझ्ने कोशिश गर, थाहा हुन्छ मायाको मूल्य,
साँचो प्रेम त छायाँझैँ साथमा हुन्छ, नदेखिँदै पनि बलियो।
तिमी सतहबाट तरुल निकाल्न खोज्छौ,
माटो मुनीको मेहनत नहेरी चर्को निर्णय सुनाउँछौ।
भावनाको जरासम्म पस्न सके त बुझिन्थ्यो—
प्रेम किन बिर्सिंदा पनि मुटुमा ज्यूँदै बाँचिरहन्छ, त्यो।
पहाडले धुन सुन्न समय लिन्छ,
नदीले बाटो बनाउन धीरज राख्छ।
मानिसले मन बुझ्न किन हतार गर्छ?
प्रकृतिले नै सिकाउँछ—गहिराइ समयसँगै फर्कन्छ।
छुटेका पाइलामा कहिलेकाहीँ डुबेर हेर्नू,
त्यहाँ अदृश्य सम्झनाका बीउहरू पलाइरहेका हुन्छन्।
त्यागेको प्रेम पनि अनायासै हराउँदैन,
नबुझेको भावनाले कहिले काँही आँखा रसाइरहन्छ।
जुन फूल समयमा नफुल्दा ओझेल पर्छ,
तर सुगन्धले फेरि आफू अस्तित्वमा छ भन्छ।
त्यसरी नै प्रेम—त्यागिँदैमा सकिँदैन,
मनको कुनै कुनामा, अदृश्य तर बलियो भएर बस्छ।
प्रकृतिलाई जस्तै, प्रेमलाई पनि आकार दिन समय चाहिन्छ,
कसैले नबुझेको भावनाले पनि गहिरो अर्थ ल्याउँछ।
सतहबाट तैरिएर मिथ्या निर्णयहरू नदेऊ,
गहिराइमा पुग हेर —त्यहाँ सत्य प्रेम मुस्कुराइरहेछ।