अखिल नेपाल ट्रेडयुनियन महासंघ (ANTUC) ले अमेरिकाले भेनेजुएलामाथि गरेको भनिएको सैन्य आक्रमण र हस्तक्षेपको कडा निन्दा तथा भ्रत्सना गरेको छ। महासंघले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै उक्त आक्रमणलाई साम्राज्यवादी, नरसंहारकारी र अन्तर्राष्ट्रिय कानुनविपरीतको कार्य भएको आरोप लगाएको हो।
वक्तव्यमा २ जनवरी २०२६ को राति भेनेजुएलाको राजधानी काराकाससहित मिरान्डा, अरागुआ र ला गुएरा राज्यका नागरिक तथा सैन्य क्षेत्रमा अमेरिकाले गम्भीर सैन्य आक्रमण गरेको भन्दै गहिरो चिन्ता व्यक्त गरिएको छ। यस्तो कार्यले संयुक्त राष्ट्रसंघको बडापत्रको धारा १ र २ को ठाडो उल्लङ्घन गरेको र स्वतन्त्र सार्वभौम राष्ट्रको अस्तित्व तथा सम्मानमाथि हमला गरेको महासंघको ठहर छ।
साथै, भेनेजुएलाका जनता र सरकारप्रति नैतिक तथा भौतिक रूपमा ऐक्यबद्धता रहने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
प्रेस वक्तव्यमा “युद्ध होइन शान्ति, हस्तक्षेप होइन न्याय” को पक्षमा उभिँदै संसारभरका श्रमजीवी जनताको साम्राज्यवादविरोधी एकता अझ मजबुत बनाउन आह्वान गरिएको छ।
वक्तव्य महासंघका अध्यक्ष लोकराज भुसालद्वारा जारी गरिएको हो।