इन्सेक को वर्ष पुस्तक २०२६ सार्वजनिक: मानवअधिकार उल्लङ्घनका घटना बढ्दो

samajsandesh.com


रमा पन्थी ,काठमाडौ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले नेपाल मानवअधिकार वर्ष पुस्तक २०२६ सार्वजनिक गरेको छ। बिहीबार प्रजातन्त्र दिवसको अवसर पारेर इन्सेकले सातै प्रदेशबाट एकैसाथ वर्ष पुस्तक सार्वजनिक गरेको हो।

कार्यक्रममा बोल्दै इन्सेकका अध्यक्ष विजयराज गौतमले समग्रमा मानवअधिकार उल्लङ्घन तथा अन्य हिंसाका घटनामा वृद्धि भएको बताएका छन्। उनका अनुसार सन् २०२५ मा पारिवारिक विवादका कारण देशभर १०३ जनाको हत्या भएको उल्लेख गरिएको छ। त्यस्तै दाइजोका कारण १४४ जनामाथि हिंसा भएको, बालअधिकार उल्लङ्घन तथा जादतीका घटनामा १ हजार ३ सय ४९ जना पीडित भएको तथा पेसागत आधारमा ११ हजार ५ सय ३८ जना पीडित भएको अभिलेखमा जनाइएको छ।

अध्यक्ष गौतमका अनुसार सन् २०२६ को हालसम्म ११ हजार ५ सय ३८ वटा मानवअधिकार उल्लङ्घनका घटना अभिलेख गरिएको छ। उनले हत्या, दाइजोसम्बन्धी हिंसा, बालबालिकामाथि हुने हिंसा तथा यौनजन्य हिंसाका घटनामा वृद्धि देखिएको बताए। विगत तीन दशकदेखि निरन्तर सार्वजनिक हुँदै आएको यो दस्तावेज नेपालमा मानवअधिकार अवस्थाको विश्वसनीय स्रोतका रूपमा स्थापित भएको उनले उल्लेख गरे।

वर्ष पुस्तकमा राज्यपक्षबाटै मानवअधिकार उल्लङ्घन हुने गरेको पनि उल्लेख गरिएको छ। सन् २०२५ मा गैरकानुनी गिरफ्तारी, हिरासतमा दुव्र्यवहार, थुनामा मृत्यु तथा अभिव्यक्ति स्वतन्त्रतामाथि लगाइएका अंकुशका घटनाले राज्यपक्षबाटै मानवअधिकार उल्लङ्घन भएको इन्सेकको जिकिर छ।

इन्सेकले सार्वजनिक गरेको वर्ष पुस्तकले देशको मानवअधिकार अवस्थाको यथार्थ चित्र प्रस्तुत गर्दै सुधारका लागि राज्य र सरोकारवालाहरूलाई जिम्मेवार बन्न आग्रह गरेको छ।

प्रतिक्रिया