दुःखत खबर भारतको पश्चिम बंगालमा निपाह भाइरसको नयाँ संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये सर्वसाधारण नागरिकसँगै स्वास्थ्यकर्मीहरू पनि रहेका छन्, जसलाई उपचारका क्रममा संक्रमण सरेको आशंका गरिएको छ।
निपाह भाइरस फलफूल खाने चमेरा र सुँगुरबाट मानिसमा सर्न सक्ने र मानिस–मानिसबीच नजिकको सम्पर्कबाट पनि फैलिन सक्ने बताइएको छ। हालसम्म यसका लागि न त कुनै निश्चित औषधि छ, न खोप नै उपलब्ध।
यसका प्रारम्भिक लक्षणमा ज्वरो, टाउको दुखाइ र सास फेर्न गाह्रो हुनु देखिन्छ भने गम्भीर अवस्थामा मस्तिष्क सुन्निने (इन्सेफालाइटिस) जस्ता समस्या हुन सक्छन्। निपाह भाइरसको मृत्युदर ७५ प्रतिशतसम्म हुन सक्ने रिपोर्टहरू छन्।
संक्रमण फैलिन थालेपछि केही एशियाली देशहरूले विमानस्थल र सीमाना नाकामा स्वास्थ्य जाँच कडा गरेका छन्। स्वास्थ्य विज्ञहरूले सर्वसाधारणलाई सतर्क रहन, सुरक्षित व्यवहार अपनाउन र अनावश्यक भीडबाट टाढा रहन आग्रह गरेका छन्।