रमा पन्थी , काठमाडौ ।
ललितपुरको मंगलबजार मा रहेको अक्षयेश्वर महाविहारले बुधबार पत्रकार सम्मेलन गर्दै बुद्ध जन्मभूमि नेपालमा आठौँ पटक ५०० कुलपुत्र प्रव्रज्या कार्यक्रम आयोजना हुन लागेको जानकारी गराएको छ।
नेपाल भिक्षु महासंघ र थाई–नेपाल धर्मदूत संघको सहकार्यमा सन् २०११ देखि निरन्तर सञ्चालन हुँदै आएको यो कार्यक्रमले बुद्ध शिक्षा जनमानसमा फैलाउँदै आएको जनाएको छ।
यस वर्ष फागुन २६ गतेदेखि चैत १७ गतेसम्म (मार्च १० देखि मार्च ३१, २०२६) सञ्चालन हुने कार्यक्रमअन्तर्गत देशका विभिन्न स्थानबाट ५०० जनालाई अल्पकालीन प्रव्रज्या दिई श्रामणेर (भिक्षु) बनाइनेछ। थाइल्यान्ड र नेपाल को अक्षयेश्वर महाविहारको आयोजनामा गरिएको कार्यक्रममा थाइल्याण्ड थाबरो भन्टे , अक्षयेश्वर महाविहारका बोधिज्ञान भन्टे लगाएत का धेरै धर्मगुरुहरु र बिभिन्न छेत्रबाट आउनु भएका आस्थावान सङै पत्रकारहरुको बाल्को उपस्थिति रहेको थियो।
नेपालमा हुन लागेको यो बिसाल प्रव्रज्यामा विभिन्न देसका बुद्ध धर्म प्रति आस्था भएका पबित्र आत्माहरु विभिन्न देशका प्रतिनिधिहरूको सहभागिता रहनेछ, जसले धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।
सह–आयोजक संस्थाहरू
कार्यक्रमका सह–आयोजक संस्थाहरूमा: अजेश्वर महाविहार, संरक्षण समितिहिरण्यवर्ण महाविहार, सुधार समिति ,नेपाल मगर बौद्ध सेवा समाज,युवक बौद्ध मण्डल नेपाल , बुद्ध समाज नेपाल,वल्र्ड एलाइन्स अफ बौदिस्ट ,लुम्बिनी बौद्ध विश्वविद्यालय, नागवहाल टोल सुधार समिति, धम्मकाया फाउन्डेसन ,बौद्ध समाज नेपाल, ग्रिन नेपाल लुम्बिनी, मगर समाज अमेरिका साथै थाई राजकीय विहार, लुम्बिनी विकास कोष, नेपाल पर्यटन बोर्ड, ललितपुर महानगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, धर्मोदय सभा तथा बौद्ध विहार संघले समेत सहयोग गरिरहेका छन्।
प्रव्रज्या प्रक्रिया र आध्यात्मिक अभ्यास
प्रव्रजित श्रामणेरहरूले सम्पूर्ण अवधिभर शील ग्रहण गरी कडाइका साथ शील पालन गर्नेछन्। प्रव्रज्या उपाध्यायत्व थाईल्याण्डबाट आउँनुभएका अति श्रद्धेय भिक्षु Ven. Phra Promvajirabodhivong ले गर्नुहुनेछ, र अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष श्रद्धेय भिक्षु धम्मशोभन महास्थविर ज्यूको उपस्थितिमा प्रव्रजित गराइनेछ।
प्रव्रजितहरूले बुद्ध शिक्षाका मूलभूत सिद्धान्तहरू अध्ययन गर्नुका साथै विभिन्न धर्मगुरुहरूबाट गहन ध्यान अभ्यास प्राप्त गर्नेछन्। अल्पकालीन प्रव्रज्या भए पनि सहभागीहरूले प्रव्रजित जीवनको स्वअनुभव गर्ने अवसर पाउनेछन्।
साथै, बुद्धकालीन समयमा भगवान बुद्धले शुद्धोदन महाराजाको निमन्त्रणामा बुद्धत्व प्राप्त गरेपछि पहिलो पटक १२५० भिक्षुसहित कपिलवस्तु आगमन गर्दा गरिएको ऐतिहासिक धम्मयात्राको झल्को दिने कार्यक्रमसमेत समावेश गरिएको छ। यसरी विभिन्न आध्यात्मिक, सांस्कृतिक तथा धर्मयात्रा कार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छ।
आयोजकले सम्पूर्ण श्रद्धालु एवं इच्छुक महानुभावहरूलाई कार्यक्रममा सहभागी भई पुण्य सञ्चय गर्न तथा बुद्ध जन्मभूमि नेपालको अन्तर्राष्ट्रिय प्रचार–प्रसारमा योगदान पुर्याउन अनुरोध गरेका छन्।