राष्ट्रिय स्वतन्त्र पार्टी ले निर्वाचन नलडिकनै एक सांसद

samajsandesh.com

  प्रदेश सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन नलडिकनै एक सांसद पाएको विषयले प्रदेशको राजनीतिक वृत्तमा व्यापक चासो र बहस सिर्जना गरेको छ।
डडेल्धुरा क्षेत्रबाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित प्रदेशसभा सदस्य डा. तारा जोशी गत सोमबार काठमाडौंमा रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपालका संरक्षक कुलमान घिसिङबीच भएको छलफलपछि सात बुँदे सहमति पछि राष्ट्रिय रास्वपाको प्रदेश सभामा उपस्थिति सुनिश्चित भएको हो। यससँगै रास्वपा सुदूरपश्चिम प्रदेश सभामा पहिलो पटक प्रतिनिधित्व हुने दल बनेको छ।
डा. जोशी २०७९ सालको प्रदेशसभा निर्वाचनमा कुनै दलको टिकट बिना स्वतन्त्र रूपमा चुनाव जितेका थिए । निर्वाचनपछि विभिन्न राजनीतिक दलसँग संवादमा रहेका उनी अन्ततः रास्वपाको नीति, पारदर्शिता र वैकल्पिक राजनीतिको एजेन्डाबाट प्रभावित भएर पार्टी प्रवेश गरेको बताइएको छ।
यस घटनाले निर्वाचन नलडी दलले संसदमा सिट पाउने अवस्था सिर्जना गरेपछि राजनीतिक विश्लेषकहरूबीच मिश्रित प्रतिक्रिया देखिएको छ। केहीले यसलाई संविधान र कानुनअनुसार स्वाभाविक राजनीतिक प्रक्रिया मानेका छन् भने केहीले जनमतको प्रत्यक्ष म्यान्डेट बिना दलको शक्ति विस्तार भएको भन्दै प्रश्न उठाएका छन्।
संविधानतः स्वतन्त्र रूपमा निर्वाचित सांसदले कुनै पनि दल रोज्न पाउने व्यवस्था रहेकाले यो प्रक्रिया कानुनी भए पनि यसले प्रदेश राजनीतिमा दल परिवर्तन र सांसद व्यवस्थापनको नयाँ अभ्यासलाई बल दिएको विश्लेषकहरूको भनाइ छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले भने यस घटनालाई सुदूरपश्चिममा वैकल्पिक राजनीतिको सुरुवात को रूपमा व्याख्या गर्दै प्रदेशका मुद्दा संसदमा मजबुत रूपमा उठाउने प्रतिबद्धता जनाएको छ।
सुदूरपश्चिम प्रदेश सभामा हाल ठूला दलहरूको वर्चस्व रहँदै आएको अवस्थामा रास्वपाको प्रवेशले आगामी दिनमा संसदीय गतिविधि, सत्ता–प्रतिपक्षको समीकरण र नीति बहसमा नयाँ गतिशीलता आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया