काठमाडौं,बैशाख २५ । नेपाल प्रहरी ले नयाँ वर्ष २०८३ को अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान तथा विपद् उद्धार सम्बन्धी नमुना अभ्यास प्रदर्शन कार्यक्रम बुधबार काठमाडौंको कपनस्थित नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल मा सम्पन्न भएको छ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल प्रहरीको विशेष प्रस्तुतिका साथमा स्वागत तथा नयाँ वर्ष २०८३ को भब्य शुभकामना आदान–प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपाल प्रहरीले विपद्का समयमा गरिने उद्धार, खोज तथा सुरक्षा व्यवस्थापनसम्बन्धी विभिन्न नमुना अभ्यास प्रस्तुत गरेको थियो। भूकम्प, आगलागी, दुर्घटना तथा अन्य आकस्मिक अवस्थामा सुरक्षाकर्मीले कसरी उद्धार कार्य सञ्चालन गर्छन् भन्ने विषयलाई व्यवहारिक र संबेदनसिल रूपमा प्रदर्शन गरिएको थियो।
कार्यक्रममा सुरक्षा निकायका अधिकारी, सञ्चारकर्मी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाल प्रहरीले उच्च तयारी, भद्रता र शिष्टतासहित विपद् व्यवस्थापनमा अपनाइने प्रक्रिया, प्रयोग हुने औजार, विधि, यसको आवश्यकता तथा महत्वबारे वस्तुगत अभ्यासमार्फत स्पष्ट पारेको थियो।
त्यसैगरी आगलागी नियन्त्रणका लागि प्रयोग हुने सामग्री र नियन्त्रण गर्ने तरिकाबारे पनि व्यवहारिक प्रदर्शन गरिएको थियो। साथै, अपहरणमा परेका व्यक्तिलाई प्रहरीले कसरी उद्धार गर्छ भन्ने विषयलाई समेत उदाहरणसहित प्रस्तुत गरिएको थियो।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता अवि नारायण काफ्लेले विपद्को समयमा नागरिकको सुरक्षा पहिलो प्राथमिकता रहेको बताउँदै यस्ता अभ्यासले जनचेतना अभिवृद्धि गर्नुका साथै उद्धार कार्यलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने उल्लेख गरे।
उपस्थित सहभागीहरूले नेपाल प्रहरीको तयारी, दक्षता तथा विपद् व्यवस्थापन क्षमताको खुलेर प्रशंसा गरेका थिए।