मंसिर५, काठमाडाैँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा)बिच पार्टी एकता सहमति पत्रलाई आज अन्तिम रुप दिइने भएकाे छ । बिहीबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा दुवै पार्टीका वार्ता टोलीले एकता सहमतिको ड्राफ्ट तयार पारेका थिए । त्यसलाई अन्तिम रुप दिन दिउँसो बैठक बस्न लागिएको नेकपा वार्ता टोली सदस्य प्रकाश ज्वालाले जानकारी दिएका छन् ।
ज्वालाका अनुसार आठ/दश बुँदा सहमतिको खाका तयार भएको छ । सहमति पत्र तयार भइसकेपछि दुवै पार्टीका शीर्ष नेताहरू बसेर एकता सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी भएको उनले बताए ।
‘हिजो भएको छलफल सकारात्मक निष्कर्षमा पुगेको छ । एकता सहमतिका लागि आठ/दश बुँदा तयार भएका छन् । अन्तिम रुप दिँदा केही बुँदा थप घट पनि हुन सक्छ’, रातोपाटीसँग ज्वालाले भने, ‘एकता सहमति पत्रलाई दिउँसो दुवै पार्टीका वार्ता टोली बसेर अन्तिम टुंगो लगाउँछौँ । त्यसपछि शीर्ष नेता बसेर एकता सहमति पत्रमा हस्ताक्षर हुनेछ ।’