अन्तरसरकारी सहकार्य र समन्वयको उत्कृष्ट उदाहरण
आज माननीय गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा गृह मन्त्रालयमा एक महत्वपूर्ण बैठक सम्पन्न भएको छ। उक्त बैठकबाट काठमाडौँ महानगरपालिका र नेपाल सरकारबीच आपसी सहकार्य र समन्वयलाई थप सुदृढ गर्ने महत्वपूर्ण निर्णयहरू गरिएको छ।
बैठकले साबिक काठमाडौँ महानगरपालिका वडा नं. २७ भोटाहिटी चोकमा अवस्थित, हाल नेपाल प्रहरीको साइबर ब्युरोले प्रयोग गर्दै आएको जग्गा तथा सो जग्गामा रहेको घर काठमाडौँ महानगरपालिकाले प्रयोग गर्ने गरी गृह मन्त्रालयले सहमति प्रदान गर्ने निर्णय गरेको छ।
त्यसैगरी, काठमाडौँ महानगरपालिका वडा नं. २८ रामशाहपथमा रहेको ७–०–२–३ क्षेत्रफलको जग्गा नेपाल सरकारको नाममा दर्ता गर्न काठमाडौँ महानगरपालिकाले सहमति प्रदान गर्ने निर्णय पनि गरिएको छ।
उक्त जग्गा नेपाल सरकारको नाममा दर्ता भइसकेपछि कुल क्षेत्रफलमध्ये कम्तीमा ८ आना जग्गा समरजंग कम्पनी कार्यालय (हाल साइबर ब्युरो रहेको जग्गाको स्वामित्व भएको कम्पनी) लाई उपलब्ध गराइनेछ भने बाँकी जग्गा नेपाल प्रहरी तथा उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपयोग गर्ने गरी आवश्यक प्रक्रिया अगाडि बढाइने निर्णय गरिएको छ।
यी निर्णयहरू संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसरकारी समन्वय, साझेदारी र सहकार्यका उत्कृष्ट अभ्यासका रूपमा लिइएका छन्। नागरिक सेवाको पहुँच, प्रभावकारिता र सहजता अभिवृद्धि गर्ने उद्देश्यका साथ काठमाडौँ महानगरपालिका आपसी सहकार्य र समन्वयका लागि सदैव प्रतिबद्ध रहने स्पष्ट सन्देश यस निर्णयबाट प्राप्त भएको छ।