मात्रिका टेक्नोलोजीद्वारा सुनचाँदी व्यवसायको बिलिङ, स्टक, लेखा र कालिगढ व्यवस्थापन एउटै प्रणालीमा

samajsandesh.com

काठमाडौं, असोज २९। नेपाली सुनचाँदी तथा गहना व्यवसायलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले मात्रिका टेक्नोलोजीले नयाँ डिजिटल प्रणाली ‘JJ Lite’ सार्वजनिक गरेको छ। विगत आठ वर्षदेखि ‘जे–ज्वेलरी सफ्टवेयर’मार्फत गहना व्यवसायलाई सेवा प्रदान गर्दै आएको कम्पनीले बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा आयोजित एक कार्यक्रमबीच उक्त प्रणाली सार्वजनिक गरेको हो।

पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको नेपाली कालिगढको सीप, मौलिक डिजाइन र सांस्कृतिक परम्परालाई आधुनिक प्रविधिसँग जोड्दै गहना व्यवसायलाई व्यवस्थित, सहज र प्रतिस्पर्धी बनाउने लक्ष्यका साथ प्रणाली ल्याइएको कम्पनीले जनाएको छ।

गहना व्यवसायको आकार र कारोबार विस्तार हुँदै जाँदा खरिद–बिक्रीको विवरण, मौज्दात व्यवस्थापन, कालिगढको हिसाबकिताब, लेखा प्रणाली, ग्राहकसँगको सम्बन्ध तथा व्यावसायिक कागजात व्यवस्थापनमा देखिने चुनौतीलाई सम्बोधन गर्न ‘JJ Lite’ उपयोगी हुने कम्पनीको विश्वास छ।

एउटै प्रणालीमा व्यवसाय व्यवस्थापनका सुविधा

‘JJ Lite’ मा बिक्री तथा बिलिङ, खरिद व्यवस्थापन, स्टक विवरण, कालिगढ व्यवस्थापन, ग्राहक सम्बन्ध व्यवस्थापन (CRM), कागजात व्यवस्थापन र नेपाल वित्तीय प्रतिवेदन मान (NFRS) मा आधारित लेखा व्यवस्थापनलगायतका सुविधा समावेश गरिएको छ।

नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रयोग गर्न सकिने यो प्रणाली कम्प्युटर, मोबाइल तथा ट्याब्लेटबाट समेत सञ्चालन गर्न मिल्ने गरी तयार गरिएको कम्पनीले जनाएको छ। यसले व्यवसायीलाई कारोबारको विवरणमा सहज पहुँच दिनुका साथै दैनिक व्यावसायिक कामलाई व्यवस्थित बनाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

साना तथा ठूला दुवै प्रकारका गहना व्यवसायलाई लक्षित गरी ल्याइएको यस प्रणालीको मासिक प्याकेज ९९९ रुपैयाँदेखि सुरु हुने बताइएको छ। इच्छुक व्यवसायीले www.jjnepal.com मार्फत यसबारे थप जानकारी लिन तथा प्रणाली प्रयोग गर्न सक्नेछन्।

गहना व्यवसायका लागि थप डिजिटल सेवाको अवधारणा

‘JJ Lite’ सँगै मात्रिका टेक्नोलोजीले गहना व्यवसायको आवश्यकता र बजारको सम्भावनालाई ध्यानमा राख्दै विभिन्न डिजिटल सेवाको अवधारणासमेत अघि सारेको छ।

कम्पनीका अनुसार ‘JJ-Mart’ ले गहना पसललाई डिजिटल बजारसँग जोड्ने, ‘JJ-Bachat’ ले ग्राहकलाई नियमित रूपमा रकम जम्मा गर्दै सुनचाँदी बचत गर्ने अवसर प्रदान गर्ने तथा ‘JJ-Patro’ ले गहना व्यवसायसँग सम्बन्धित पात्रो र आवश्यक जानकारी उपलब्ध गराउने लक्ष्य राखेका छन्।

त्यसैगरी, कृत्रिम बौद्धिकता (AI) मा आधारित ‘JJ-Sathi’ लाई डिजिटल सहयोगीका रूपमा विकास गर्ने तथा ‘JJ-Community’ र ‘JJ-Pathshala’ मार्फत व्यवसायीबीच ज्ञान, अनुभव आदानप्रदान र व्यावसायिक शिक्षा प्रवर्द्धन गर्ने अवधारणा अघि सारिएको छ।

यसका अतिरिक्त, ज्योतिषीय मान्यताअनुसार चिना निर्माण गरी रत्न तथा धातुसम्बन्धी सुझाव उपलब्ध गराउने सुविधालाई समेत प्रणालीको विशेष पक्षका रूपमा प्रस्तुत गरिएको छ।

महिला सहभागिता बढाउनेदेखि अन्तर्राष्ट्रिय बजारसम्मको लक्ष्य

मात्रिका टेक्नोलोजीले नेपाली गहना व्यवसायमा महिलाको सहभागिता र निर्णय प्रक्रियामा उनीहरूको भूमिकालाई थप सशक्त बनाउने लक्ष्यसमेत राखेको छ।

साना तथा मझौला गहना पसलहरूको अवलोकनका क्रममा श्रीमान्–श्रीमती दुवै मिलेर सञ्चालन गरेका व्यवसायमा सहकार्यको महत्त्व देखिएको अनुभवका आधारमा कम्पनीले व्यवसायसम्बन्धी जानकारीमा सहज पहुँच विस्तार गर्न खोजेको जनाएको छ। यसबाट महिलाहरूलाई व्यवसायको व्यवस्थापन, आर्थिक निर्णय र व्यावसायिक नेतृत्वमा सक्रिय साझेदारका रूपमा अघि बढ्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कम्पनीको दीर्घकालीन लक्ष्य नेपाली कालिगढको सीप, सिर्जनशीलता र मौलिक डिजाइनलाई आधुनिक प्रविधि तथा गुणस्तरको माध्यमबाट अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउनु हो।

नेपाली गहना व्यवसायको पहिचान यसको परम्परा, मौलिकता र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सीपमा आधारित रहेको उल्लेख गर्दै कम्पनीले प्रविधि परम्पराको विकल्प नभई त्यसलाई थप व्यवस्थित, दिगो र सम्भावनायुक्त बनाउने माध्यम भएको जनाएको छ।

यस अभियानलाई सफल बनाउन सुनचाँदी व्यवसायी, कालिगढ, ग्राहक तथा सञ्चारमाध्यमसँग सहकार्य गर्दै नेपाली गहना व्यवसायलाई डिजिटल रूपान्तरणको दिशामा अघि बढाउने अपेक्षा कम्पनीले गरेको छ।


प्रतिक्रिया